काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले अघि बढाइरहेको १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशनमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई अपिल गरेको छ। संस्थापन इतर पक्षका नेताहरूसँगको छलफलपछि नेता डा. शशांक कोइरालाले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत यस्तो अपिल गरिएको हो। विज्ञप्तिमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने जिकिर गरिएको छ।
देउवा पक्षले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा महाधिवेशन अघि बढाइए कांग्रेसका सबै तहमा संरचनागत विभाजन सुरु हुने चेतावनी समेत दिएको छ। पार्टीको विवाद समाधान नगरी गरिने अधिवेशनले संगठनलाई थप कमजोर बनाउने उनीहरूको भनाइ छ।विज्ञप्तिमार्फत देउवा पक्षले वर्तमान अवस्थामा कांग्रेसलाई सुदृढ, सबल र गतिशील बनाउन सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेको जनाएको छ। पार्टीभित्रको विवादलाई थप गहिरो बनाउनेभन्दा संवाद र सहमतिका माध्यमबाट समाधान खोज्नुपर्नेमा समेत जोड दिइएको छ।
देउवा पक्षले विशेष महाधिवेशन पक्षबाट आयोजना हुने अधिवेशन तथा महाधिवेशनलाई ‘अवैधानिक र विभाजनकारी’ को संज्ञा दिँदै त्यसमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई आग्रह गरेको छ।
यसअघि संस्थापन इतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरिसकेको छ। दुवै पक्षबीच महाधिवेशनको वैधानिकता र पार्टीको आधिकारिकतासम्बन्धी विवाद चर्किँदै गएपछि कांग्रेसको आगामी महाधिवेशन प्रक्रिया थप अन्योलमा पर्ने देखिएको छ।




