कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा पनि सहमति नजुटेपछि निर्वाचन रोकिन पुगेको हो ।

निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार नयाँ मिति भने अझै तय गरिएको छैन । दलको नेता सहमतिमै चयन गर्ने उद्देश्यसहित उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो ।

समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल सहभागी थिए । तर शीर्ष नेताबीच सहमति कायम हुन नसक्दा प्रक्रिया अघि बढ्न सकेन ।

सभापति गगनकुमार थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सारेका छन् भने उपसभापति विश्वप्रकाश शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई समर्थन गरेका छन् ।

यसैबीच, समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमति नभए निर्वाचनमा उम्मेदवारी दिने तयारी रहेको जनाइसकेका छन् ।

नेताहरूबीच सहमति नजुटेपछि आजका लागि तय गरिएको निर्वाचन कार्यक्रम नै स्थगित गरिएको हो । आज दिउँसो ३ बजेदेखि सुरु हुने गरी मनोनयन, नामावली प्रकाशन, दाबी विरोध, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनसहित साँझ ५ बजे मतदान गर्ने कार्यतालिका तय गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्