काठमाडौं । नेपाली कांग्रेस का महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमाथि प्रश्न उठाउँदा प्रतिनिधिसभा निर्वाचनमाथि पनि प्रश्न उठ्ने बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशनबाट निर्वाचित समिति नै पन्ध्रौं महाधिवेशनको तयारी समिति भएको जिकिर गरे।
उनले प्रक्रियागत रूपमा टुंग्याउने सन्दर्भमा केही अग्रज नेताहरूले कार्यशैलीप्रति असन्तुष्टि जनाए पनि त्यसलाई सच्याउन आफूहरू तयार रहेको बताए। “हामी कसैलाई पनि सिनियर नेतालाई अपमान गर्ने उद्देश्यमा छैनौं, पार्टीलाई व्यवस्थित र एकीकृत बनाउनेतर्फ मात्रै केन्द्रित छौं,” उनले भने।
महामन्त्री पौडेलले प्रक्रिया जहाँ पुगिसकेको छ, त्यहाँबाट फर्कनुपर्ने तर्क उपयुक्त नहुने उल्लेख गरे। “सबै मिलेर सँगसँगै अघि बढ्नुको विकल्प छैन, व्यवहारका कारण कसैलाई ठेस पुगेको छ भने त्यसलाई सच्याउनुपर्छ,” उनले भने, “अब पन्ध्रौं महाधिवेशनको तयारीमा लाग्ने वातावरण बनाउँदैछौं।”
साथै उनले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्वमाथि प्रश्न उठाउँदा समग्र निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठ्ने धारणा राखे। “विशेष महाधिवेशनको नेतृत्व मान्दिनँ भन्ने हो भने निर्वाचनलाई कसरी स्वीकार गर्ने? त्यसकारण प्रक्रिया धेरै अगाडि बढिसकेको छ, अब त्यहीँबाट सँगसँगै अघि बढ्नुपर्छ,” उनले स्पष्ट पारे।






