काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको अनौपचारिक बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको अद्याबधिक नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटलगायत सममायिक विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा एमसिसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आआफ्ना भनाइ राख्नुभएको प्रवक्ता श्रेष्ठले बताए । नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एमसिसी अध्ययनका लागि कार्यदल बनाएको थियो ।