कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक अस्पताल लगिएका २२ जनामध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।
सयौंको भिडमा रहेका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि अहिले सुदूरपश्चिम प्रदेशमा त्रास फैलिएको छ । बिहीबार सीमाबाट स्वदेश प्रवेश गरेका २४ सय ९८ जनामध्ये छ सय जनाको मात्र र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
शनिबार संक्रमण पुष्टि भएका चारै जना बैतडीको शिवनाथ गाउँपालिकाका हुन् । शिवनाथ गाउँपालिकाका–१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए । उनीहरू चारै जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् । यसअघि शुक्रबार पनि सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका एक जनालाई शुक्रबार संक्रमण देखिएको थियो । उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।