काठमाडौँ। रामेछाप मा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। मृत्यु हुनेमा नेपाल प्रहरी का सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरे रहेका छन्।
सोमबार रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट करिब १ सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए। घाइतेमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बोकेर शीतलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवनतर्फ जाँदै गरेको गाडी मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोली तथा सशस्त्र प्रहरीको विपद् उद्धार बेस खुर्कोटको टोलीले घाइतेको उद्धार गरी सदरमुकाम मन्थली पुर्याएको थियो। त्यहाँबाट सेनाको हेलिकप्टरले काठमाडौँ ल्याएको जनाइएको छ।








