काठमाडौँ। ओमप्रकाश अर्याल ले चुनाव प्रचारप्रसार निषेध (मौन) अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताउनुभएको छ। निर्वाचन आयोग नेपाल को बहादुर भवनस्थित कार्यालयमा आयोजित छलफलमा उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे समीक्षा गर्दै भयरहित वातावरणमा ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो।
मन्त्री अर्यालले चुनावी सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबीच समन्वय भइरहेको उल्लेख गर्नुभयो। सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सँग सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे छलफल भएको थियो।
निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ भने मौन अवधि आज राति १२ बजेदेखि लागू हुनेछ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा सूक्ष्म अनुगमन गरिने र उल्लङ्घन गर्नेविरुद्ध कानूनअनुसार कारबाही हुने बताउनुभयो।
छलफलमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव कृष्णबहादुर राउत, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ लगायत पदाधिकारीको उपस्थिति रहेको थियो। आयोगले मौन अवधि र मतदानको दिनसम्म आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ।







