इरानविरुद्ध कारबाहीका लागि बेलायतस्थित अमेरिकी अड्डा प्रयोग गर्न अनुमति

लन्डन। केयर स्टार्मरले बेलायतमा रहेको अमेरिकी सैन्य अड्डाबाट इरानका मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्ष्य गरी कारबाही गर्न अनुमति दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले उक्त निर्णय विशेष र सीमित रक्षात्मक उद्देश्यका लागि मात्र गरिएको बताएका हुन्।

स्टार्मरका अनुसार इरानले क्षेत्रभरि मिसाइल प्रहार गरी निर्दोष सर्वसाधारणको ज्यान लिने तथा बेलायती नागरिकको सुरक्षामा जोखिम पुर्‍याउने सम्भावनालाई रोक्न यो कदम चालिएको हो। “इरानले निर्दोष नागरिकमाथि आक्रमण गर्न नपाओस् भन्ने उद्देश्यले हामीले अनुमति दिएका हौँ,” उनले भने।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले इरानमाथि सम्भावित पूर्व–आक्रमणका लागि बेलायती अड्डा प्रयोग गर्न अस्वीकार गरिएको भन्दै असन्तुष्टि जनाएका थिए। विशेषगरी RAF Fairford र हिन्द महासागरस्थित Diego Garcia अड्डाको प्रयोगमा लगाइएका प्रतिबन्धले अमेरिकी सैन्य योजना प्रभावित हुन सक्ने ट्रम्पको भनाइ थियो।

यद्यपि बेलायतले इरानविरुद्ध प्रत्यक्ष आक्रमणमा सहभागिता जनाएको छैन। शनिबारदेखि बेलायती सेनाले उत्तरी इराक र कतारतर्फ लक्षित इरानी ड्रोनहरू अवरोध गर्ने जस्ता रक्षात्मक कारबाही गरेको जनाएको छ।

ग्लोस्टरशायरस्थित आरएएफ फेयरफोर्ड दीर्घकालीन रक्षा सम्झौताअन्तर्गत अमेरिकी वायुसेनाले सञ्चालन गर्दै आएको भए पनि बेलायती भूमिबाट कुनै पनि सैन्य अभियान सञ्चालन गर्न लन्डनको स्पष्ट स्वीकृति आवश्यक पर्छ। रणनीतिक दृष्टिले महत्वपूर्ण डिएगो गार्सियाले सन् २००३ को इराक आक्रमण तथा त्यसपछिका अफगानिस्तान र इराकमा भएका कारबाहीमा महत्वपूर्ण भूमिका खेलेको थियो।

बेलायतको पछिल्लो निर्णयले पश्चिमी गठबन्धन र इरानबीच बढ्दो तनावका बीच क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको विश्लेषण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्