काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृतकमध्ये ६ महिला र ११ पुरुष रहेका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख १४२१ नम्बरको बस राति करिब १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडास्थित सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो । बस क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न बाँकी रहेको छ । दुर्घटनामा एक जना न्यूजील्याण्डका नागरिकसहित विदेशी पर्यटकहरू पनि परेको जानकारी उनले दिए ।
घटनास्थलबाट डुंगाको सहायतामा यात्रुहरूलाई करिब एक किलोमिटर तलसम्म ल्याई, त्यहाँबाट उकालो चढाएर एम्बुलेन्समार्फत विभिन्न अस्पताल पठाइएको थियो । उद्धार गरिएकामध्ये ८ महिला, १८ पुरुष र एक बालिका रहेका छन् ।
रातिको समय, भीरालो तथा अप्ठ्यारो भूगोल र उद्धार सामग्रीको अभावका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । “टर्च बाल्दै घाइतेहरूको उद्धार गर्यौं, आवश्यक उपकरणको कमी महसुस भयो,” उनले घटनास्थलबाट जानकारी दिए ।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धारमा खटिएको थियो । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो ।
घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।








