काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८ दशमलव १६ अङ्कले घटेर २ हजार ६ सय ६२ दशमलव ९१ विन्दुमा झरेको छ। समग्र बजार ओरालो लाग्दा लगानीकर्तामा सावधानी देखिएको छ।
आज फाइनान्स, होटल तथा उत्पादन समूह बाहेक अन्य सबै समूहका सूचक घटेका छन्। विशेषगरी जलविद्युत् समूहको शेयर करिब १ प्रतिशतले घटेको छ। कूल ३३५ कम्पनीको कारोबार भएकामा १ सय ६३ वटा कम्पनीको शेयर मूल्य घटेको, ८६ वटाको बढेको र ९ वटाको मूल्य स्थिर रहेको छ।
व्यक्तिगत कम्पनीतर्फ आज खानीखोला हाइड्रोपावर कम्पनी को शेयर सबैभन्दा धेरै ९ दशमलव ३८ प्रतिशतले घटेको छ। बजार घटेको दिन पनि केही कम्पनीमा सकारात्मक सर्किट लागेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंक को शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको हो।
कारोबार रकममा भने गिरावट देखिएको छ। गएको बिहीवार ११ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज १ करोड ९६ लाख कित्ता शेयर किनबेच हुँदा कुल ७ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ। बजार परिसूचक घटेसँगै कारोबार रकम पनि घट्दा लगानीकर्तामा सतर्कता बढेको विश्लेषकहरूले बताएका छन्।







