नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समितिद्वारा चुनाव केन्द्रित छलफल तथा अन्तरक्रिया

काठमाडौँ – नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समिति तथा नेविसंघ दार्चुला काठमाडौँ सम्पर्क समितिले फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै चुनाव केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शनिवार राजधानी काठमाडौँ नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समितिका अध्यक्ष केशर सिंह भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस दार्चुला जिल्ला समिति सचिव पुलेन्द्र कार्की, कांग्रेस नेता जगदिश पाल, बासुदेव ऐतवाल, नेता शम्भू जोशी, महाधिवेशन प्रतिनिधिहरू गणेश भट्ट, नरेन्द्र सिंह धामी, क्षेत्रीय सभापति केशब बहादुर सिंहलगायत नेपाल विद्यार्थी संघका पदाधिकारी तथा सदस्यहरू, साथै विभिन्न तहमा क्रियाशील नेपाली कांग्रेसका युवा नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा बदलिँदो राजनीतिक परिवेशअनुसार नेपाली कांग्रेस पार्टीले आफूलाई रूपान्तरण गर्दै उम्मेदवार छनोटमा समेत नयाँ सोच र पुस्तान्तरणलाई प्राथमिकता दिएको विषयमा गहन छलफल गरिएको थियो । दार्चुलाबाट योग्य, सक्षम र देश विकासका लागि आवश्यक नेतृत्व प्रदान गर्न सक्ने व्यक्तित्वका रूपमा अधिवक्ता पृष्ठभूमि भएका, संयुक्त राष्ट्रसंघ (UN) अन्तर्गत मानव द्वन्द्व व्यवस्थापन तथा मानव अधिकारको क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव बोकेका नेता धर्मानन्द जोशीको उम्मेदवारी पार्टीका लागि मात्र होइन, दार्चुलाबासीका लागि पनि गर्वको विषय भएको सहभागीहरूको निष्कर्ष थियो ।

कार्यक्रममा सहभागी सबै नेता तथा प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्दै उम्मेदवारको जित सुनिश्चित गर्न कांग्रेसभित्र एकता, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए । दार्चुलाका जनताले योग्य, सक्षम र अन्तर्राष्ट्रिय अनुभव बोकेको नेतृत्वलाई जिताउने विश्वाससमेत व्यक्त गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दिलेन्द्र प्रसाद बडूले सम्बोधन गर्दै देशको वर्तमान आवश्यकता नेपाली कांग्रेस नै भएको स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो पुस्ताका ‘जेनजी’ युवाहरूको चाहना, भावना र अपेक्षाअनुसार पार्टीले उम्मेदवार चयन गरेर अघि बढेको बताउनुभयो । विना स्पष्ट एजेन्डा र नीतिविना आएका नयाँ पार्टीहरूले देशको हितमा ठोस काम गर्न नसक्ने उल्लेख गर्दै बडूले पुस्तान्तरण र रूपान्तरणको अभियानका साथ अघि बढेको नेपाली कांग्रेसले मात्रै देशलाई सही दिशामा अघि बढाउन सक्ने दाबी गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता, समर्थक तथा दार्चुलाबासीलाई एकताबद्ध भएर लाग्न अपिल गर्नुभयो । कार्यक्रम अन्त्यमा कांग्रेसलाई जिताउने साझा प्रतिबद्धतासहित छलफल तथा अन्तरक्रिया सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालन तथा उद्घोष नेपाली कांग्रेस दार्चुला काठमाडौँ सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष बिष्णुसिँह बोहराले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्