काठमाडौँ – नेपाली साहित्यिक जगतमा प्रख्यात साहित्यकार पार्वती पुडासैनीको नवीन कवितासंग्रह ‘छेपारो समय’ हालै प्रकाशित भएको छ। विगत ३० वर्षदेखि नेपाली कविता, कथा, निबन्ध तथा स्वास्थ्यसम्बन्धी लेखमार्फत साहित्यमा सक्रिय रहँदै आएकी पुडासैनीले यस नयाँ कृतिमा ७५ कविता संग्रहित गरेकी छिन्।
संग्रहका कविताहरूले मानवीय मूल्य मान्यतामा देखिएको विचलन, राजनीतिक गतिहीनता, संवेदनाको ह्रास, स्वार्थको प्रभाव, सत्य र न्यायको पहिचानमा अवरोध, समाजमा स्वार्थीहरूको वर्चस्व जस्ता विषयलाई उजागर गरेको बताइएको छ। कविताहरूले समाजमा शक्ति र धनको मोहले मान्छे–मान्छेबीचको सम्बन्धलाई कसरी प्रभावित पारिरहेको छ भन्ने कुरालाई समेट्दै, सही विचार र दर्शनमार्फत समाज उन्नतिशील बन्न सक्ने सन्देश दिन खोजेको छ।
संग्रहबारे साहित्यिक समालोचक डा. हेम भण्डारीले भनेका छन्, “कवि पार्वती पुडासैनीका कविता कोमल अनुभूतिमा आधारित, सरस अभिव्यक्तिमा अगाडि बढेका छन्। शब्दहरूको सजावट, लयको संयोजन र कविताको अस्तित्व निर्माणमा उनको सचेतना मजबुत छ। उनका कविता सरल संरचनामा प्रस्तुत भए पनि गम्भीर अर्थ व्यक्त गर्न सफल छन्।”
अर्का समालोचक डा. दामोदर पुडासैनीले भनेका छन्, “पार्वतीका कविता बलजफ्ती रचिएका होइनन्। मान्छेले मान्छेलाई गरेको होचीअर्घेली, मानव–प्रकृतिबीचको द्वन्द, राजनीतिले निम्त्याएको अँध्यारो–उज्यालो, मानवीय प्रेम र सदभाव जस्ता विषयहरू उनका कवितामा समेटिएका छन्। छोटो संरचनामा समेत व्यापक अर्थ व्यक्त गर्न सक्ने क्षमता उनका कवितामा देखिन्छ।”
काव्यसंग्रह भुँडीपुराण प्रकाशन, बागबजारले प्रकाशित गरेको हो। प्रकाशन संस्थाका प्रबन्ध निर्देशक केशव पराजुलीले नेपाली काव्यभण्डारमा पार्वती पुडासैनीको उपस्थिति प्रभावशाली र महत्वपूर्ण रहेको बताए।






