काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिक (अपडेट) का लागि थप गरिएको समय आज मध्यरातिदेखि सकिँदै छ । आयोगले यसअघि दर्ता समय कात्तिक ३० गतेसम्म तोकेको थियो । तर नयाँ मतदाताको भीड बढेपछि तथा सरोकार भएका पक्षहरुको अनुरोधलाई मध्यनजर गर्दै आयोगले समय मङ्सिर ५ गतेसम्म थपेको हो।
आयोगका अनुसार थपिएको अवधिमा करिब सात लाख नयाँ मतदाता सूचीकृत भएका छन् । अन्तिम यकिन सङ्ख्या भने मध्यरातिपछि संकलन भई छिट्टै सार्वजनिक गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्। राष्ट्रिय परिचयपत्र (National ID) को विवरणका आधारमा अनलाइनमार्फत नाम दर्ता गर्ने सुविधा उपलब्ध भएपछि दर्ता गराउनेको संख्या झनै बढेको आयोगले जनाएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित र समावेशी बनाउने उद्देश्यले आयोगले दर्ता तथा अद्यावधिक अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।






