एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित

काठमाडौँ — टियू क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ।
शुक्रबार सम्पन्न लिगको पाँचौँ दिनको खेलमा रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै प्रभावशाली प्रदर्शन कायमै राख्यो।

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रनमा सीमित रह्यो। लिगमा सुदूरपश्चिमले लगातार दुई खेल जित्दा पोखराले भने लगातार दोस्रो हार बेहोर्नुपरेको छ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। जिमी नीशमले ४५ रनको महत्त्वपूर्ण योगदान दिए भने डान डौथवेटले अन्तिमतिर मात्र ३७ रन जोड्दै संघर्ष गरे, तर ती प्रयास रोयल्सको लक्ष्य नजिक पुर्‍याउन पर्याप्त भएन। पावरप्लेमा रनगति नियन्त्रणमा राख्न नसकिएको पोखराको हारका कारणमध्ये एक मानिएको छ। भुर्तेल–नीशमले २०–३ को अवस्थाबाट ७० रनको साझेदारी गरे पनि हार टार्न सकेन।

सुदूरपश्चिमका लागि हर्मीत सिंहले २ विकेट लिए भने स्कट कुग्गेल्जिन, कप्तान दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी, नरेन साउद र अविनाश बोहराले १–१ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङका लागि आमन्त्रित सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रनको बलियो योगफल बनाएको थियो। एक चरणमा १५ ओभरमै १६०–२ को अवस्थामा रहेर २०० भन्दा माथिको स्कोरतिर लागिरहेको रोयल्सको पारी अन्तिम पाँच ओभरमा मात्र ३३ रन र पाँच विकेटमै सीमित रह्यो।

सुदूरपश्चिमका जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए। ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै उनले उत्कृष्ट पारी खेले। त्यस्तै विनोद भण्डारीले ४२ बलमा ४३ रन जोडे। पोखराका जिमी नीशमले ३ विकेट लिए भने डान डौथवेट र आकाश चन्दले २–२ विकेट हात पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्