कृषि विभागद्वारा ४५औँ विश्व खाद्य दिवस भव्यताका साथ मनाइयो, सात स्थानीय तह सम्मानित

काठमाडौँ । “स्वच्छ खाना र सुखद् भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ ४५औँ विश्व खाद्य दिवस–२०२५ आज (अक्टोबर १६) नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले काठमाडौँमा आयोजना गरेको केन्द्रीय समारोहमा मन्त्रालयका शीर्ष पदाधिकारीहरूले स्वच्छ, विषादीरहित र दिगो खाद्य प्रणाली निर्माणमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले देशमा खाद्य सुरक्षा सुनिश्चित गर्न उत्पादन, संरक्षण र वितरणको सन्तुलनमा जोड दिनुपर्ने बताए। उनले भने, “नेपाल जस्तो कृषिप्रधान देशमा स्वच्छ खाना अब विकल्प होइन, आवश्यकता हो। हामीले दिगो, विषादीरहित र पौष्टिक उत्पादन प्रणाली निर्माण गर्न सके मात्र भविष्य सुखद् बन्न सक्छ।”

मन्त्री परियारका अनुसार, सरकारले जैविक (अर्गानिक) कृषि प्रवर्द्धन, स्थानीय बाली संरक्षण, र कृषकलाई बजार पहुँच दिलाउने नीतिलाई प्राथमिकतामा राखेको छ। उनले विश्व खाद्य दिवसले हरेक वर्ष नागरिकलाई स्वस्थ खाने बानी र स्थानीय उत्पादनको महत्व सम्झाउने अवसर प्रदान गर्ने बताए।

 

कार्यक्रममा बोल्दै कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले उत्पादन वृद्धिसँगै खाद्य गुणस्तरमा सुधार नगरेसम्म स्वास्थ्य र वातावरणीय संकट बढ्ने चेतावनी दिए। उनका अनुसार, “खाद्य उत्पादनमा मात्र होइन, यसको भण्डारण, प्रशोधन र वितरणमा पनि स्वच्छता र सुरक्षाको मापदण्ड पालना हुन आवश्यक छ।”  त्यस्तै अर्का सचिव डा. दीपक कुमार खरालले विश्व खाद्य दिवसले कृषक, उपभोक्ता र राज्यबीचको सहकार्यलाई सुदृढ बनाउने बताए। उनले भने, “हामीले स्वस्थ खानेकुरा उत्पादन गर्ने कृषकलाई सम्मान गर्नुपर्छ, र उपभोक्तालाई सही जानकारी र विकल्प उपलब्ध गराउनुपर्छ। यसरी मात्र खाद्य प्रणाली सन्तुलित र दिगो बन्छ।”

कार्यक्रममा कृषि विभागका महानिर्देशक प्रकाश सन्जेलले नेपालमा अर्गानिक खेतीको क्षेत्र विस्तार हुँदै गएको जानकारी दिए। उनका अनुसार, देशका धेरै स्थानीय तहहरूले विषादीरहित उत्पादनमा जोड दिँदै अर्गानिक अभियान सञ्चालन गरिरहेका छन्।

मन्त्री, सचिव र विभाग प्रमुखहरूले सबै नागरिकलाई स्थानीय उत्पादन प्रयोग गर्ने, खाद्य अपव्यय रोक्ने, र स्वस्थ खानेकुरा रोज्ने बानी विकास गर्न आग्रह गरे। कार्यक्रममा सातवटै प्रदेशका उत्कृष्ट स्थानीय तहहरूलाई प्रदेशगत उत्कृष्ट पालिका पुरस्कार प्रदान गरिएको थियो।
सम्मान प्राप्त पालिकाहरूमा —

  • कोशी प्रदेश : लालीगुराँस नगरपालिका (तेह्रथुम)

  • मधेश प्रदेश : बरहथवा नगरपालिका (सर्लाही)

  • बागमती प्रदेश : जिरी नगरपालिका (दोलखा)

  • गण्डकी प्रदेश : अजिरकोट गाउँपालिका (गोरखा)

  • कर्णाली प्रदेश : सिमकोट गाउँपालिका (हुम्ला)

  • सुदूरपश्चिम प्रदेश : अपिहिमाल गाउँपालिका (दार्चुला)

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन (FAO) को पहलमा सन् १९७९ देखि हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइँदै आएको छ। यस वर्षको दिवसले स्वच्छ, दिगो र सबैका लागि उपलब्ध खाद्य प्रणाली निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्य र स्थानीय नवप्रवर्तनको आवश्यकता औंल्याएको छ।

स्वच्छ खाना केवल पेटको आवश्यकतामात्र होइन, भविष्यको स्वास्थ्य र देशको समृद्धिसँग जोडिएको विषय हो। दिगो कृषि र सचेत उपभोग नै सुखद् भविष्यको आधार हो। अन्य वक्ताहरुको भनाइ रहेको थियो । यसैगरी ७ जना कृषक, १ जना खाद्य प्रशोधनकर्ता तथा एकजना सञ्चारकर्मीलाइ समेत सम्मान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्