काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्।
साम्पाङले आफ्नो स्टाटसमार्फत युवापुस्ताको रगत बगाउने, देश जलाउने, कार्यकारी प्रमुखको चुनाव नगराउने, भ्रष्टाचारीलाई कारबाही गर्नुभन्दा उल्टै आन्दोलनकारीलाई पक्रने, शहिदको अन्त्येष्टीमा समेत नदेखिने, विदेशी दलाललाई साथ दिने प्रवृत्तिलाई निषेध गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले स्पष्ट शब्दमा बालेनलाई लक्षित गर्दै यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन्। साम्पाङले लेखेका छन्, “स्टेटस लेखेर युवापुस्ताको रगत बगाउने, देश जलाउने, कार्यकारी प्रमुखको चुनाव नगराउने, भ्रष्टाचारीलाई होइन उल्टै आन्दोलनकारीलाई पक्राऊ गर्ने, शहिदको अन्त्येष्टीमा समेत नदेखिने, विदेशी दलाललाई सबैले निषेध गरौँ।”
हालैको जेन-जी आन्दोलनको सन्दर्भमा दुवै मेयरबीच सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप सार्वजनिक रुपमा चलिरहेको छ। मेयर साहले जेनजी आन्दोलनमा समर्थन जनाएका थिए तर आन्दोलनपछि उनी श्रद्धाञ्जली दिन पशुपति समेत नगएको भनेर धेरैले उनको आलोचना गरेका छन् ।






