काठमाडौ – पूर्व गृहराज्यमन्त्री एवम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठले रामेछापबाट एसइइ पास गरेर काठमाडौं आउने नयाँ पुस्ताले प्रतिस्पर्धी, सचेत र सक्षम नागरिकको रूपमा आफूलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा नेकपा (माओवादी केन्द्र)दोरम्बा शैलुङ–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै श्रेष्ठले आजको पुस्ता डिजिटल युगमा हुर्किँदै गएकोले मोबाइल, इन्टरनेटजस्ता प्रविधिहरूको सकारात्मक उपयोग गर्दै अध्ययनमा उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिए।
उनले दोरम्बा लगायत रामेछापका अन्य क्षेत्रहरूबाट एसइइ पास गरेर काठमाडौं आईपुगेका विद्यार्थीहरूलाई अबको चुनौती परीक्षा पास गर्नु मात्र नभई आफूलाई अध्ययन र क्षमताको माध्यमबाट समाजमा अब्बल सावित गर्नु भएको पनि बताए।
श्रेष्ठले २०४६ सालमा आफूले एसएलसी पास गरेर रामेछापबाट काठमाडौं पढ्न आउदा निकै कठिन रहेको स्मरण गर्दै अहिलेको पुस्ताले प्रविधि, पहुँच र अवसरको राम्रो सदुपयोग गर्न सक्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा उनले विगतमा अध्ययनकै क्रममा डाक्टर, इन्जिनियर, सचिवजस्ता राज्यका उच्च पदस्थ पदमा जिम्मेवार त्यक्तीहरु रामेछापकै विद्यार्थी रहेको उदाहरण दिँदै अबको पुस्ताले पनि आफ्नो रुचिअनुसारको संकाय रोजेर त्यसमा विज्ञता हासिल गर्दै देश निर्माणमा योगदान पुर्याउनुपर्नेमा जोड दिए।
राजनीतिप्रति सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै श्रेष्ठले देशको अवस्था बुझ्ने र जिम्मेवार निर्णय गर्न सक्ने सोच राख्न विद्यार्थीहरू तयार हुनुपर्ने बताए। यद्यपि सबैले सक्रिय राजनीति गर्नुपर्छ भन्ने होइन, सचेत नागरिकको रूपमा सही निर्णय लिने क्षमता विकास हुनु जरुरी रहेको उनको भनाइ थियो।
गणतन्त्र स्थापनामा माओवादी आन्दोलनको भूमिका उल्लेख गर्दै श्रेष्ठले वर्तमान पुस्ताले त्यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बताए। अन्त्यमा “हामीले लडेर राजतन्त्र हटायौं, तपाईंहरूले पुस्तकमा पढ्नुभएको होला,” उनले भने, “अबको जिम्मेवारी गणतन्त्रलाई बलियो बनाउने हो।”
उनले कांग्रेस र एमालेले जनअपेक्षा अनुसार काम गर्न नसकेको प्रसंग उठाउदै दिगो विकासको लक्ष्य हासिल गर्न, सुशासन, सामाजिक न्याय सहितको आर्थिक समृद्धि ल्याउन आगामी २०८४ सालको निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत आवश्यक रहेको पनि उल्लेख गरे ।






