काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ। सोही अवसरमा प्रमुख प्रतिपक्षका नेताका रूपमा प्रचण्डले वर्तमान राजनीतिक अवस्था, बजेटप्रति दलको धारणा र समसामयिक मुद्दामा बोल्ने तयारी गरेका छन्।
यसका लागि माओवादी केन्द्रले आफ्ना सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेको छ। माओवादी केन्द्रका प्रतिनिधिसभामा ३२ जना सांसद छन्। दलका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई पठाएको सन्देशमा भनिएको छ, “असार ३० गते प्रमुख विपक्षी दलका नेताका हैसियतले अध्यक्ष प्रचण्डज्यूले प्रतिनिधिसभामा सम्बोधन गर्नुहुनेछ, त्यसका लागि अनिवार्य उपस्थिति सुनिश्चित गर्नुहोस्।”
यस सम्बोधनलाई प्रमुख प्रतिपक्षी दलको नीति, दृष्टिकोण र आगामी रणनीतिक सन्देशको रूपमा समेत हेरिएको छ। प्रचण्डको सम्बोधनप्रति संसद तथा राजनीतिक वृत्तमा चासो देखिएको छ।






