कञ्चनपुर — कृष्णपुर नगरपालिकाले छाउपडी प्रथा अन्त्य गर्न ठोस कदम चालेको छ। नगर क्षेत्रभित्र अझै कायम रहेका छाउगोठ हटाउन नगरपालिकाले विशेष निर्देशन जारी गर्दै १५ दिनभित्र सबै वडामा रहेका छाउगोठ अनिवार्य रूपमा भत्काउन आदेश दिएको हो।
नगरपालिका अन्तर्गतका केही वडामा अझै छाउपडी प्रथा कायम रहेकाले त्यस्ता गोठ निरीक्षण गरी हटाउन वडा कार्यालयमार्फत अभियान थालिएको हो। छाउगोठ नहटाउने व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना गरिने र प्रचलित कानुनअनुसार कानुनी कारवाहीसमेत गरिने नगरपालिकाले चेतावनी दिएको छ। यसअघि वडा नं १ निगालीमा छाउगोठमा बसेकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिका झनै सक्रिय भएको हो। नगरप्रमुख हेमराज ओझाले छाउपडी प्रथालाई सामाजिक कलङ्कको रूपमा व्याख्या गर्दै यसलाई अन्त्य गर्न कठोर निर्णय लिनु आवश्यक भएको बताए।
नगरप्रमुख ओझाका अनुसार मंगलबारदेखि नै प्रत्येक वडामा नगरपालिका कार्यालयबाट पत्रसहितको निरीक्षण टोली खटाइनेछ। टोलीले घरघरमा पुगेर छाउगोठको अनुगमन गर्ने र त्यस्ता गोठ तत्काल भत्काउन लगाउनेछ। निरीक्षणका क्रममा टोलीले छाउपडी विरुद्ध सचेतना फैलाउने कार्यसमेत गर्ने बताइएको छ। यसअघि वडा नं १ कुमगडा क्षेत्रमा रहेका चारवटा छाउगोठ नगरपालिकाको पहलमा भत्काइसकिएको छ। अब बाँकी वडामा पनि छाउपडी अन्त्यका लागि यो अभियान व्यापक बनाइने नगरपालिकाले जनाएको छ। कृष्णपुर नगरपालिकाको यो पहल छाउपडी प्रथा विरुद्धको संघर्षमा सकारात्मक र प्रभावकारी कदमका रूपमा हेरिएको छ।