काठमाडौँ – अविरल वर्षापछि आएको बाढीले रसुवाको केरूङ भन्सार क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। भोटेकोशी नदीको जलप्रवाह एक्कासि बढेपछि केरूङ नाकाको संरचना, सडक सञ्जाल र मालवाहक सवारीसाधनहरूमा गम्भीर क्षति भएको प्रारम्भिक जानकारी आएको छ।
घटनास्थलबाट प्राप्त विवरणहरू अनुसार, बाढीले कन्टेनर, ट्रकलगायतका गाडीहरू बगाएको र केही भन्सार संरचनाहरू भत्किएको अनुमान गरिएको छ। यद्यपि, कति गाडी बगाए वा कति जनधनको क्षति भयो भन्ने विषयमा आधिकारिक पुष्टि भइनसकेको एकता व्यापार संघ नेपालले जनाएको छ।
व्यापारीहरूलाई निराश नहुन आग्रह गर्दै एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्यले भने, “प्रकृतिले रसुवाको केरूङ भन्सार क्षेत्रमा ठूलो पीडा दिएको छ। यद्यपि, त्यहाँको यथार्थ अवस्था क्रमशः खुल्दै जानेछ। यस्तो विषम घडीमा व्यापारी मित्रहरू हतोत्साहित नहुनुहोस्। हामी सबैको एकता, संयमता र विश्वास आवश्यक छ।”
आचार्यले थपे, “व्यवसायमा केही समयको अवरोध आउन सक्छ, तर हाम्रो सहकार्य, सहानुभूति र पुनर्निर्माणको मनोबल बलियो बनाइराख्न जरुरी छ।”
एकता व्यापार संघ नेपाल चीनबाट आयात गरेर व्यवसाय गर्ने नेपाली व्यापारीहरूको साझा संगठन हो। यस संघले व्यापारीहरूका समस्या, अधिकार र हित संरक्षणका लागि निरन्तर काम गर्दै आएको छ। संघले सम्बन्धित निकायहरूलाई तत्काल उद्धार, मूल्याङ्कन र पुनः सञ्चालनका कार्यहरूमा सक्रियताका साथ लाग्न समेत आग्रह गरेको छ।







