काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा भएका प्रगति र समस्यालाई एकै छिनमा निष्कर्षमा पुर्याउन नहुने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देशका उपलब्धिहरूलाई अन्धो प्रशंसा गर्न पनि नहुने र सबैथोक बर्बाद भयो भन्नु पनि अनुचित हुने स्पष्ट पारे।
“देशमा केही राम्रो भएको छ, सबै थोक खत्तम पनि छैन। तर जे गर्नुपर्ने हो, त्यो जति भएको छैन। राम्रो कामको प्रशंसा गर्नुपर्छ, नभएकोमा जिम्मेवारी माग्नुपर्छ,” थापाले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने। “र बाँकी काम? त्यो म गर्छु भनेर अघि बढ्नुस्।”
उनको स्वर प्रष्ट थियो – समर्पणको, सम्भावनाको र सङ्घर्षको।
विद्यार्थीहरूलाई उनले अध्ययन गरेर समर्थन वा विरोध गर्न आग्रह गरे। “कसैले भन्ने मात्र आधारमा नपत्याउनुस् – न धेरै राम्रो भयो भनेर, न झुर भयो भनेर। अध्ययन गर्नुस्, बुझ्नुस्, अनि धारणा बनाउनुहोस्,” उनले सुझाए।
थापाले युवाहरूसँग विशेष अपेक्षा पनि राखे। “नथाक्नुस्, नभाग्नुस्। गल्ती नगर्नुस् भन्ने होइन, गल्नुस् तर सिक्नुस्। अडिएर, सिकेर, प्रश्न गरेर अगाडि बढ्नुस्। रमाइलो पनि गर्नुस्, गम्भीर पनि बन्नुस्,” उनका ती शब्दहरू हलभरि गुञ्जिए। कार्यक्रमको अन्त्यतिर उनले आफ्नो आशावाद दोहोर्याए – “म विश्वास गर्छु, हामीले भन्दा राम्रो काम तपाईंहरूले गर्नुहुनेछ।”






