पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित, थुनछेक बहसको तयारी

काठमाडौं- पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा संलग्नता देखिएको आरोपमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल मंगलबार विशेष अदालतमा उपस्थित भएका छन्।

उनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही सिलसिलामा नेपाल मंगलबार अदालतमा प्रस्तुत भएका हुन्। अदालतमा उपस्थित हुन पाउने निवेदन पहिले नै दर्ता भइसकेकाले मुद्दाको पेसी तय गरी बयान लिने प्रक्रिया अघि बढाइएको कानुन व्यवसायीहरूले जानकारी दिएका छन्।

नेपाल पक्षका कानुन व्यवसायीहरूले बुधबारबाट सुरु हुने बयान प्रक्रिया छिटो सकाएर थुनछेक बहसमा प्रवेश गर्ने योजना बनाएका छन्। उनीहरूले नेपाललाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्नेछन्। अर्कातर्फ सरकारी वकिलले भने उनलाई थुनामा राख्नुपर्ने तर्क प्रस्तुत गर्ने तयारी गरेको छ।

पतञ्जलि योगपीठले काभ्रेपलाञ्चोक जिल्लामा जडीबुटी खेती, आयुर्वेद शिक्षालय र अस्पताल निर्माणका लागि हदबन्दी छुटमा ८१५ रोपनी जग्गा खरिद गर्न २०६६ सालमा अनुमति पाएको थियो। तत्कालीन माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयले उक्त छुट प्रदान गरिएको थियो।

तर, हदबन्दी छुटमा प्राप्त जग्गा बिक्री गर्न नपाइने प्रस्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि पतञ्जलिले खरिद गरेको केही महिनामै सो जग्गा बिक्रीको निर्णय गर्‍यो। यही प्रक्रिया अवैध रहेको भन्दै अख्तियारले छानबिन अघि बढाएको थियो। अख्तियारका अनुसार, पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीलाई दबाब दिई पतञ्जलिलाई गैरकानुनी रूपमा जग्गा उपलब्ध गराएको ठहर गरिएको छ।

भूमिसम्बन्धी ऐन, २०२१ अनुसार उत्पादनमूलक प्रयोजनका लागि हदबन्दी छुटमा जग्गा राख्न सकिने भए पनि सो जग्गा पुनः बिक्री गर्न पाइँदैन। कम्पनी विघटन भएमा उक्त जग्गा स्वतः सरकारीकरण हुने कानुनी प्रावधान पनि छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्