सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको उत्तरी भेगमा अवस्थित हेलम्बु गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समृद्ध, समावेशी र प्रविधिमैत्री स्थानीय शासन निर्माणको दिशामा ठोस कदम चालेको छ। गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा तयार पारिएको नीति तथा कार्यक्रमले ‘नमूना गाउँपालिका निर्माण’ को संकल्पलाई मूर्तरूप दिने दाबी गरिएको छ।
डिजिटलमय हेलम्बु : सम्पूर्ण सेवामा प्रविधिको प्रयोग
गाउँपालिकाले आगामी वर्षलाई “डिजिटल हेलम्बु” को आधार वर्ष मानेर, सम्पूर्ण सार्वजनिक सेवा प्रणालीलाई प्रविधिसँग जोड्ने रणनीति अघि सारेको छ। गाउँपालिकाका सम्पूर्ण मातहतका कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा निकायहरूमा सेवा प्रवाह र कार्यसम्पादन डिजिटल विधिबाट गरिनेछ। गत वर्ष इ-हाजिरी प्रणाली, सीसीटीभी जडान, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन र ल्यापटपजस्ता डिजिटल सामग्री विद्यालयहरूमा पुर्याइसकिएको उल्लेख गर्दै, अब कक्षा ८ देखि १२ सम्मका सबै कक्षामा स्मार्ट बोर्ड स्थापना गरिने छ। गाउँपालिकाले E-Governance/Paperless Government अवधारणाअनुसार ई-पेमेंट सिस्टम, अफिस अटोमेसन, डिजिटल फाइलिङ, र GIS आधारित डेटाबेस व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने बताएको छ।
शिक्षामा गुणस्तर र पहुँचको विस्तार
शिक्षालाई समयसापेक्ष, प्रविधियुक्त र सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यले गाउँपालिकाले शिक्षाको आधारभूतदेखि उच्चस्तरसम्मका संरचनामा महत्वपूर्ण योजनाहरू समावेश गरेको छ।
- प्राविधिक तथा व्यवसायिक शिक्षा प्रवर्धन गर्न हेलम्बु बोधिसत्व मोडल स्कुल मार्फत कक्षा ९–१२ मा कम्प्युटर तथा सिभिल इञ्जिनियरिङ सञ्चालनमा ल्याइएको छ। अब नातक तहको प्राविधिक शिक्षा सुरु गर्ने तयारी छ।
- सामुदायिक विद्यालयहरूमा स्वयंसेवक शिक्षक (Volunteer Teachers), इंटर्न शिक्षक, र शैक्षिक सहायक अनुदान को व्यवस्था गरिएको छ।
- विद्यालयहरूमा किचन गार्डेन, दाल-भात खाजा कार्यक्रम, र बाल पोषण कार्यक्रमलाई प्रवर्द्धन गर्दै शिक्षासँगै स्वास्थ्य सुधारमा पनि जोड दिइएको छ।
- वि.सं. २०८५ पछि विद्यालय नपुगेका बालबालिकाको खोज र पुनः भर्ना अभियान सञ्चालन गरिने छ।
स्वास्थ्य क्षेत्रमै पहिलोपटक पाँच लाखसम्मको निःशुल्क उपचार
हेलम्बु गाउँपालिकाले सार्वजनिक स्वास्थ्य सेवामा क्रान्तिकारी निर्णय गर्दै ‘साझेदार कार्यक्रम’ अन्तर्गत पाँच लाखसम्मको निःशुल्क उपचारको घोषणा गरेको छ। दिर्घरोगी, अपांगता, वा जटिल रोग लागेका व्यक्तिहरूलाई चिकित्सकीय सिफारिसका आधारमा यो सेवा उपलब्ध गराइनेछ।
- दिर्घरोगीलाई औषधि खर्च,
- गर्भवतीलाई घरमै सेवा र पोषण भत्ता (रू. ६,०००),
- ‘मद्यपान र धूम्रपान नगर्ने गर्भवतीलाई’ नगद रू. १०,०००,
- ६० वर्ष माथिका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान भत्ता (रू. ३०,०००),
- सामुदायिक स्वास्थ्य इकाइको सुदृढीकरण,
- A.I. X-ray सेवा र विस्तारित स्वास्थ्य शिविर लगायतका नविन कार्यक्रम सञ्चालन गरिनेछ।
कृषि, पशुपालन र पर्यटनमा आत्मनिर्भरता र रोजगारी सृजना
गाउँपालिकाले एकीकृत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्दै मोडल फर्म स्थापना गर्ने र बजारसँग जोड्ने नीति अघि सारेको छ। यसका लागि प्रारम्भिक २ करोड बजेट विनियोजन गरिएको छ।
साथै,
- कृषकलाई मल ढुवानीमा अनुदान,
- आलु, फापर, फलफूल आदि उत्पादनमा आधारित ‘हेलम्बु पकेट क्षेत्र’,
- गाउँमा नै उत्पादन गरिएको दुध र तरकारीको निर्यात,
- पर्यटन प्रवर्द्धनका लागि हेलम्बु हिमालयन ट्रेलको निर्माण,
- High Altitude Sports Training Centre,
- हिमालयन हेलम्बु हाई अल्टिच्युड म्याराथन र खेलकुद वर्ष घोषणा लगायत कार्यक्रम रहेका छन्।
सामाजिक समावेशीकरण र संवेदनशील समूहका लागि विशेष कार्यक्रम
- दलित, जनजाति, महिला, अपांगता भएका व्यक्तिहरूका लागि समावेशी कार्यक्रम।
- सँस्कृत र सभोटा भाषा संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन।
- स्थायी, करार, राहत शिक्षक/कर्मचारीका लागि अस्थायी अवकाश कोष तथा कल्याणकारी कोष।
- पत्रकारहरूका लागि विशेष स्वास्थ्य उपचार राहत (रू. ३ लाखसम्म)।
वातावरण संरक्षण, विपद् न्यूनीकरण र जलवायु न्याय
हेलम्बु गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र मानेर वातावरणीय सन्तुलनका लागि विशेष कार्यक्रम ल्याइएको छ।
- जलवायु सम्मेलन आयोजनाको तयारी।
- हिमनदी संरक्षण, खोला–पोखरी पुनःनिर्माण, विपद् चेतना, प्रारम्भिक पूर्वसूचना प्रणाली।
- विद्यालय तहबाट जलवायु सचेतना कार्यक्रम, र बालविवाह न्यूनीकरण।
संघीयता, सहभागिता र समन्वयमा आधारित योजना निर्माण प्रक्रिया
यस वर्षको नीति तथा कार्यक्रम लोकतान्त्रिक सहभागिता, स्थानगत आवश्यकता, र संघ–प्रदेशसँगको सहकार्यका आधारमा तय गरिएको हो। बजेटको स्रोतमा संघीय र प्रदेश सरकारका विनियोजन, राजस्व बाँडफाँड, आन्तरिक आम्दानी, तथा विकास साझेदारहरूको सहयोग प्रमुख रहनेछ। २०८२/८३ को नीति तथा कार्यक्रमले हेलम्बु गाउँपालिकालाई डिजिटल, समावेशी, शैक्षिक तथा आर्थिक दृष्टिले सक्षम बनाउने महत्वाकांक्षी खाका कोरेको छ। यो योजना कार्यान्वयन भएमा हेलम्बु प्रदेशमै होइन, देशभरकै नमूना गाउँपालिका बन्ने प्रबल सम्भावना देखिएको छ।