काठमाडौं – इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द गरिएको दोहा उडान आज मध्याह्न १२ बजेका लागि पुनः तय गरिएको छ। नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा प्रस्थान गर्ने तालिका थियो, तर सुरक्षा कारणले अन्तिम समयमा उडान स्थगित गरिएको थियो।
कतारको राजधानी दोहामा स्थिति केही समयका लागि तनावग्रस्त बनेपछि उडान स्थगित गर्नुपरेको एयरलाइन्स स्रोतले जनाएको छ। सोमबार राति नै यात्रुहरूलाई विमान चढाउने तयारी भइरहेकै बेला आक्रमणको सूचना आएको थियो, जसका कारण वैदेशिक रोजगारीका लागि जान लागेका यात्रुहरू अलमलमा परेका थिए।
विमानस्थलमै रात बिताएका यात्रुहरूलाई राति १ बजेतिर प्रहरीले हटाएको थियो। यद्यपि, सोमबारदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बसिरहेका ती यात्रुहरू अहिले पनि अन्योलमा छन्।
हाल कतारमा हवाई मार्ग पुनः सञ्चालनमा आएको र अवस्था क्रमशः शान्त बन्दै गएकोले नेपाल एयरलाइन्सले उडान समय पुनः निर्धारण गरी आज दिउँसो १२ बजेका लागि उडान तय गरिएको जानकारी दिएको छ।
यसबीच यात्रुहरूले उचित व्यवस्थापनको माग गरेका छन् भने सम्बन्धित निकायलाई तत्काल सहजीकरण गर्न आग्रह गरिएको छ।