काठमाडौं – नेपालको भूगोलको सबैभन्दा सुदूर उत्तरपश्चिम भाग चुच्चे नक्साभित्र पर्ने, कालापानीसँग जोडिने, र त्रिदेशीय व्यापार, धार्मिक पर्यटन र सुरक्षा दृष्टिकोणले रणनीतिक रूपमा अति संवेदनशील दार्चुला–तिंकर सडक उपेक्षाको शिकार बनेको छ। दार्चुलाबाट प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता सांसद दिलेन्द्र प्रसाद बडूले संसदमा यो विषय कडा रूपमा उठाउँदै सरकारको नियतमाथि प्रश्न उठाएका छन्।
सांसद बडू भन्छन्, “दार्चुला–तिंकर सडक केवल सडक मात्र होइन, यो नेपाली नागरिकको जीवनमरणसँग गाँसिएको, राष्ट्रको स्वाभिमान र भूगोलसँग जोडिएको संवेदनशील मार्ग हो। महामानव बीपी कोइरालाको विचारमा राष्ट्रको परिभाषा केवल भूगोल होइन, भूगोलभित्र बस्ने जनताको सेवा, सुविधा र जीवनस्तरसँग जोडिन्छ भन्ने धारणा नै आजको सन्दर्भमा अत्यन्त सान्दर्भिक छ।”
बडूले संसदको रोष्ट्रमबाट प्रश्न गरे — “देशको सीमाना र अस्तित्वसँग जोडिएको यस्तो महत्वपूर्ण आयोजनालाई सरकारले प्राथमिकतामा किन राख्न सकेन ? किन बारम्बार माग गर्दा पनि नीति होइन, नियतमै समस्या देखिएको छ ?”
२०७७ साल सम्म दार्चुलाको खलंगादेखि तिंकरसम्म १३४ किलोमिटर सडक छुट्टै शीर्षकमा बजेटसहित अघि बढाइएको थियो। सोही वर्ष वैशाख १ गते, तत्कालीन नेकपा सरकारको निर्णयअनुसार तुषरपानी–तिंकर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइयो। तर त्यसपछि त्यो आयोजना महाकाली करिडोरमा गाभेर, त्यसको स्पष्टता, गतिशीलता र बजेटीय पहिचान सबै गुमाइएको बडूको आरोप छ।
बडू भन्छन्, “छुट्टै परियोजनाको रूपमा अघि बढाउनुपर्ने यस्तो राष्ट्रिय महत्वको आयोजना महाकाली करिडोरको नाममा गाभेर अलमलमा पारिएको छ। सरकारको नीतिका कारण नभई नियतका कारण यो सडक थला परिरहेको मेरो बुझाई छ ।”
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा तुषरपानी–तिंकर सडकखण्डका लागि छुट्टै शीर्षक त राखिएको छ, तर विनियोजन भएको ६ करोड ३१ लाख रुपैयाँमध्ये, निर्माण कार्यका लागि जम्मा १ करोड मात्र छुट्याइएको छ। संसदमै सांसद बडूले प्रश्न गरे “आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजन गर्दा तुषरपानी-तिंकर सडकखण्डमा छुट्टै शीर्षका बजेट विनियोजन भए पनि रकम ६ करोड ३१ लाख मात्रै किन ? र त्यसभित्र पनि निर्माण कार्यका लागि १ करोड मात्रै छुट्याएको किन ?”
सांसद बडूले संसदमा अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग स्पष्ट उत्तर माग गर्दै भने, “यो सडक केवल भौतिक विकासको कुरा होइन, यो राष्ट्रिय स्वाभिमान, कूटनीतिक हैसियत र सीमावर्ती जनताको अस्तित्वको प्रश्न हो। यो उपेक्षा गम्भीर आपत्तिको विषय हो।”
यो मार्ग महर्षि वेदव्यासको तपोभूमिसम्म पुग्ने धार्मिक मार्ग हो। भारत–चीन–नेपाल त्रिदेशीय व्यापारिक सम्भावनालाई जोड्ने सम्भावना बोकेको यो सडक सामरिक सुरक्षा, धार्मिक पर्यटन र अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण आधार बन्न सक्ने सांसद बडूकाे भनाइ छ ।
दार्चुला–तिंकर सडक सरकारका भाषण र बजेटपुस्तिकामा हैन, निश्चित कार्यान्वयन, पर्याप्त बजेट, र स्पष्ट योजनाका साथ अघि बढ्नुपर्ने राष्ट्रिय प्राथमिकता हो। किनभने यो सडक केवल दार्चुलाको विकासको कुरा होइन, यो नेपालको भूगोल, जनगण, सीमाको सुरक्षा र राष्ट्रियताको संरक्षणसँग प्रत्यक्ष जोडिएको मार्ग हो।