देशभर रिक्त पदमा उपनिर्वाचनको तयारी, असार १६ भित्र मिति तोकिने

काठमाडौं- सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, निर्वाचनको मिति तोक्ने प्रक्रिया अगाडि बढाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा अन्तर्गत मनाङ क्षेत्र नम्बर १ (२) मा आगामी कात्तिक दोस्रो साता निर्वाचन गर्ने प्रस्तावसहित तयारी अघि बढाइएको हो।

रुपन्देही ३ मा राप्रपाका सांसद दीपक बोहराको निधनले पद रिक्त भएको हो भने, मनाङ १ (२) मा प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएपछि रिक्तता आएको हो।

यसैबीच, स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। उपनिर्वाचनको मिति तोक्ने कार्य असार १६ गतेभित्र सम्पन्न हुने आयोगको तयारी छ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको थियो। कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा सहभागी थिए। भेटमा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको तयारी अनुसार नेपाल सरकारबाट आवश्यक सबै सहजीकरण हुने आश्वासन दिएका थिए।

सरकारको यस सक्रियतासँगै रिक्त रहेका विभिन्न तहका जनप्रतिनिधिहरूको स्थान पूर्ति गर्दै प्रतिनिधित्व सुनिश्चित गर्ने प्रक्रिया अघि बढेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्