भुर्तेलको विस्फोटक प्रदर्शनले दिलायो नेपालको दोस्रो जित

काठमाडौं – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले दोस्रो जित हात पारेको छ । स्कटल्याण्डको ग्लास्गोमा बिहीबार भएको रोमाञ्चक खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले दिएको १७५ रनको चुनौती नेपालले १९.४ ओभरमै ४ विकेटको क्षतिमा पुरा गर्‍यो । नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकसहित सर्वाधिक ६५ रन बनाए । उनले ५१ बलमा ६ चौका प्रहार गर्दै टीमलाई स्थिर सुरुवात दिलाए ।

यसैगरी, आरिफ शेखले महत्वपूर्ण ३९ रन बनाए । दुर्भाग्यवश उनी स्कोर १६८ रन हुँदा रिटायर्ड हर्ट भए । डेब्यू खेलमै भीम सार्कीले आत्मविश्वासपूर्ण प्रदर्शन गर्दै २७ रन बनाए ।  नेदरल्याण्ड्सका बलरहरू बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले समान १–१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । ओपनर माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्कासहित ८६ रनको आतिशी पारी खेले । यस्तै, भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित योगदान दिए ।

एक समय ४५–४ को संकटमा परेको नेदरल्याण्ड्सलाई लेभिटले साकिब जुल्फिकरसँग ६३ रनको साझेदारी गर्दै सम्हाले । त्यसपछि मर्वे र आर्यन दत्तले अन्तिम क्षणमा ४५ रनको साझेदारी गर्दै टीमको स्कोर १७४ सम्म पुर्‍याए । नेपालका लागि करण केसीले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा ४० रन खर्चिए । यस्तै, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले समान १–१ विकेट लिए ।

नेपालले यसअघि नेदरल्याण्ड्ससँगको पहिलो खेलमा तीन सुपर ओभर खेलेपछि पराजय भोगेको थियो भने स्कटल्याण्डमाथि जित निकालेको थियो । नेपालले अब शृंखलाको अन्तिम खेल शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ । यो जितसँगै नेपालको मनोबल उच्च बनेको छ र अन्तिम खेल जित्दै उपाधि दाबी गर्ने लक्ष्यमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्