काठमाडौं — प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयमा भएको तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा त्रिवि पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो कोही भए पनि उनीहरूलाई उन्मुक्ति नदिइ कारबाही सुनिश्चित गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
छलफलका क्रममा विश्वविद्यालयका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसीले हाल विश्वविद्यालयमा असुरक्षा बढेको, तोडफोडमा संलग्न व्यक्तिहरूलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेकालाई रिहा गरिएको भन्दै गुनासो राखेका थिए। साथै, असुरक्षाका कारण विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर परिसर बाहिरबाट सेवा सञ्चालन गर्नुपरेको जानकारी समेत दिएका थिए।
उपकुलपति केसीले प्रधानमन्त्री ओलीको चासो र निर्देशनबाट विश्वविद्यालयमा सुरक्षा प्रत्याभूति हुने आशा व्यक्त गरे। गत फागुन २१ गते कीर्तिपुरस्थित त्रिवि शिक्षाध्यक्ष तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय र रत्न राज्यलक्ष्मी क्याम्पसमा तोडफोड भएको थियो। त्यसपछि जेठ १४ गते उपकुलपतिको कार्यालयमा समेत तोडफोड गरिएको थियो।
प्रधानमन्त्रीको यस निर्देशनसँगै त्रिविमा शान्तिपूर्ण शैक्षिक वातावरण पुन: बहाली हुने अपेक्षा गरिएको छ।