काठमाडौं – चर्चित सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीको उच्च स्रोतले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको पुष्टि गरेको छ।
प्रहरी स्रोतका अनुसार केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले काठमाडौं जिल्ला अदालतसँग पक्राउ अनुमति मागेको थियो। त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। यद्यपि, उजुरी कसले दिएको हो र के कस्तो आरोप लगाइएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।
विवादको पृष्ठभूमि
पाठकले झन्डै तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा काठमाडौंको नक्शालस्थित पाँचतारे हिल्टन होटलको सेयर खरिद–बिक्रीसम्बन्धी एक सामग्री सार्वजनिक गरेका थिए। उक्त भिडियोमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर सिंहको नाम जोड्दै, उनको रियलस्टेट व्यवसाय दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म फैलिएको दाबी गरेका थिए।
त्यस्तै, पाठकले शंकर ग्रुपको मुख्य लगानी रहेको भनिएको हिल्टन होटलसँग पनि जयवीरको सम्पर्क रहेको भन्दै उनको सम्पत्तिमाथि प्रश्न उठाएका थिए।
शंकर ग्रुपको खण्डन
पाठकको उक्त भिडियो सार्वजनिक भएपछि शंकर ग्रुपले वैशाख २१ गते एक विज्ञप्ति जारी गर्दै कडा खण्डन गरेको थियो। विज्ञप्तिमा ग्रुपले बिना आधार राजनीतिक व्यक्ति र व्यापारिक घरानालाई जोडेर भ्रामक र क्षतिपूर्ण समाचार निर्माण गरिएको उल्लेख गर्दै यस्ता गतिविधिले व्यवसायिक प्रतिष्ठा र राजनीतिक जीवन दुवैमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको थियो। ग्रुपले कानुनी प्रक्रिया अघि बढाउने जनाउँदै यसप्रकारका सामग्रीप्रति गम्भीर आपत्ति जनाएको थियो।
अनुसन्धान जारी
प्रहरी स्रोतले पाठकविरुद्धको मुद्दा अझै अनुसन्धानकै चरणमा रहेको जनाएको छ। यसबीचमा दिलभूषण पाठकले यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। यो घटनाले पत्रकारिता, सामाजिक सञ्जाल र साइबर कानुनको प्रयोग तथा दुरुपयोगबारे फेरि बहस चर्काएको छ। पत्रकारिताको स्वतन्त्रता र अभिव्यक्तिको सीमा के हो भन्ने विषयमा समेत चर्चा सुरु भएको छ।