१७७ नेपाली डिपोर्टमा, आइतबारको संख्या अहिलेसम्मकै धेरै

File Photo

१७७ नेपाली डिपोर्टमा, आइतबारको संख्या अहिलेसम्मकै धेरै

डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पद सम्हालेपछि अमेरिका सरकारले गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीलाई फिर्ता पठाउने नीति अपनाएको छ। सोही नीति अन्तर्गत शनिबारसम्म १४० जना नेपाली डिपोर्टमा परेका थिए भने आइतबार थप ३७ जना पठाइएपछि यो संख्या १७७ पुगेको छ। एकैपटक चार्टर्ड विमानबाट डिपोर्ट गरिएका नेपालीको यो संख्या हालसम्मकै धेरै हो।

मानव तस्करी र अवैध बसोबासको सञ्जालमा परेका नेपाली

विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिका डिपोर्टमा परेका अधिकांश नेपाली मानव तस्करीमा संलग्न गिरोहको सञ्जालमार्फत करोडौं रुपैयाँ तिरेर अमेरिका पुगेका थिए। उनीहरू एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुक हुँदै तथाकथित “डंकी रुट” अपनाएर अमेरिका पुगेका थिए। नेपाल प्रहरीको अनुसन्धान अनुसार यस्तो अवैध बाटो अपनाउने धेरैजसो नेपाली रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, अर्घाखाँची जस्ता जिल्लाका हुन्।

तिनीहरूले मानव तस्करीमा संलग्न गिरोहलाई १ करोड रुपैयाँसम्म तिर्ने गरेका प्रमाणहरू नेपाल प्रहरीको फाइलमा छन्। केही नेपाली भने विभिन्न भिसामा अमेरिका गइ त्यहाँ गैरकानुनी रूपमा बसेका थिए।

‘आइस’ मार्फत धरपकड, डिपोर्ट सूचीमा ३ हजार ५ सय नेपाली

ट्रम्प प्रशासनले इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) को माध्यमबाट २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र डिपोर्टको अन्तिम आदेश पाइसकेका कागजातविहीन आप्रवासीहरूलाई प्राथमिकतामा राखेर धरपकड गरिरहेको छ। हाल डिपोर्टको सूचीमा करिब ३ हजार ५ सय नेपाली परेका छन्, जसमध्ये करिब २ हजार जना ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (TPS) मा छन्।

अमेरिकामा करिब ८ हजार नेपाली TPS अन्तर्गत बसिरहेका छन्। वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले डिपोर्टमा परेका नेपालीलाई ट्राभल डकुमेन्ट जारी गर्दै आएको छ।

आइतबारको संख्या अहिलेसम्मकै धेरै

अमेरिकी अध्यागमन कानुन उल्लंघनको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका थप ३७ नेपाली आइतबार मध्यराति चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका छन्। ओम्नी एयर इन्टरनेसनलको कल–साइन ‘एन–४८६ एएक्स’ भएको विशेष जहाजमार्फत ३२ पुरुष र ५ महिलालाई अमेरिका सरकारले निष्कासन गरेर नेपाल फर्काएको हो।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार उक्त विमानले भारत र बंगलादेशका डिपोर्टमा परेका नागरिकलाई उनीहरूकै देशमा पुर्‍याएपछि अन्त्यमा ३७ नेपालीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्