काठमाण्डौ- यस वर्ष औसत समयभन्दा १५ दिन चाँडो नेपाल प्रवेश गरेको मनसुन प्रणाली हाल कोशी प्रदेशमै अलमलिएको छ। मनसुन देशभर फैलिनुपर्ने समयमा एक हप्ता नाघ्दा पनि पूर्वी सीमाबाट पश्चिमतर्फ अगाडि बढ्न सकेको छैन।
सामान्यतः मनसुन नेपाल प्रवेश गरेपछि १२–१५ दिनभित्र देशभर फैलनुपर्ने हुन्छ। गएको वर्ष जेठ २८ गते मनसुन नेपाल प्रवेश गरी असार १० भित्रै सबै भूभागमा फैलिएको थियो। तर, यस वर्ष जेठ १३ गते प्रवेश गरेको मनसुन ९ दिनदेखि कोशी प्रदेशमै अड्किएको छ। उपाध्यायका अनुसार, अहिलेको अवस्थाले हेर्दा बुधवारसम्म देशभर ठूलो वर्षा हुने सम्भावना न्यून छ। मनसुन शिथिल हुँदा एकातिर वर्षा नहुने र अर्कोतर्फ तराई क्षेत्रमा गर्मी तीव्ररूपमा बढ्ने खतरा पनि देखिएको छ।
यस अवस्थाले कृषिमा प्रत्यक्ष असर पार्ने मौसमविद्हरूको भनाइ छ। रोपाइँको मुख्य सिजन सुरु भइसकेको बेला पर्याप्त पानी नपर्नु देशका किसानका लागि चिन्ताको विषय बनेको छ। जल तथा मौसम विज्ञान विभागले नागरिकहरूलाई मौसमको अद्यावधिक जानकारी लिन आग्रह गर्दै उच्च सतर्कता अपनाउन पनि सुझाव दिएको छ।