काठमाण्डौ – आज देशभरको मौसम सामान्यतया सफा देखिएको छ। कोशी र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव बढी देखिएको छ भने पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुले असर पारेको बताइएको छ।
काठमाण्डौ उपत्यकासहित अधिकांश क्षेत्रको मौसम आज सफा छ। दिउँसो कोशी प्रदेशलगायत केही पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने सम्भावना छ। कोशीका थोरै स्थानहरू र पहाडका एक-दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावनासमेत रहेको मौसमविद्हरूको भनाइ छ। तर, हाललाई ठूलो वर्षा वा बाढीको तत्काल खतरा नरहेको स्पष्ट गरिएको छ।