रविन्द्र मिश्र र धवल शमशेर राणा सम्पर्कविहीन, जमानी लिने वकिललाई ५०–५० हजार जरिवाना

काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएपछि उनीहरूलाई हाजिरी जमानीमा छुटाउने वकिलहरूलाई प्रहरीले ५०–५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका मिश्र र राणालाई अदालतको आदेशमा हाजिरी जमानीमा छुटाइएको थियो। तर, छुटेपछि अदालती प्रक्रियामा उपस्थित नहुँदा उनीहरूलाई बुझाएका वकिललाई जरिवाना गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।

उनका अनुसार, “हामीले हाजिरी जमानीमा लिएर जिम्मा लिने व्यक्तिलाई अनुसन्धान अधिकृतको अधिकार प्रयोग गरी जरिवाना गरेका हौं। दुवै वकिललाई ५०/५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।”

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५(४) अनुसार हाजिरी जमानीमा छुटाइएका व्यक्तिहरू समयमै अदालतमा उपस्थित नभएमा जिम्मा लिने पक्षलाई अनुसन्धान अधिकृतले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।

चैत १५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा घर–घरमा तोडफोड, आगजनीजस्ता गतिविधि भएका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा मिश्र र राणासहित ६५ जनाविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ।

तीनकुने घटनासँग सम्बन्धित मुद्दाको हाल काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ। प्रहरीले उनीहरूलाई उपस्थित गराउन वकिलमार्फत पटक–पटक समन पठाए पनि कुनै प्रतिक्रिया नआएपछि कानुन बमोजिम जरिवाना गरिएको प्रहरी स्रोतले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्