काठमाण्डौ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति कार्यालयमा भएको तोडफोडप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न गृह प्रशासनसँग आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा तोडफोड र तालाबन्दीको घटनाले शैक्षिक स्वतन्त्रता र पठनपाठन प्रक्रियामा प्रतिकूल प्रभाव पारेको उल्लेख गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन जोड दिइएको छ।
विज्ञप्तिमा भनिएको छ, “विश्वविद्यालयजस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखौं विद्यार्थीको भविष्य निर्माणमा समर्पित निकायमा कुनै पनि बहानामा हुने हिंसात्मक र गैरकानुनी गतिविधि निन्दनीय र भत्र्सना योग्य छन्।”
मन्त्रालयले यस्ता घटना शैक्षिक क्यालेन्डरमा अवरोध सिर्जना गर्ने, शैक्षिक वातावरणमा भय उत्पन्न गर्ने कार्य भएको स्पष्ट पारेको छ। साथै, यस्ता अप्रिय गतिविधि पुनः नदोहरिने गरी सबै सरोकारवालालाई सजग र संयमित भई योगदान गर्न आग्रहसमेत गरेको छ।
सरकारको तर्फबाट उच्च शिक्षा संस्थामा शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न ठोस पहल गरिनुपर्ने आवाज समेत उठिरहेको छ।