काठमाडौं — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकहरूमाथि अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरू अब अमेरिका यात्रा गर्न पाउने छैनन्।
ट्रम्प प्रशासनले सुरक्षा जोखिम, भिसा अवधि नाघ्ने दर र अपर्याप्त जाँच प्रणालीलाई प्रतिबन्धको मुख्य कारणको रूपमा उल्लेख गरेको छ। उनका अनुसार यस्ता देशहरूबाट आउने व्यक्तिहरूको प्रभावकारी छानबिन सम्भव नहुँदा अमेरिकाको सुरक्षामा खतरा उत्पन्न हुन सक्छ।
त्यस्तै बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूमाथि आंशिक प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धहरू आगामी जुन ९ देखि लागू हुनेछन्। तर, ग्रिनकार्ड होल्डर, ९ जुनभन्दा पहिले भिसा प्राप्त गरिसकेका व्यक्ति, विशेष भिसा वर्ग तथा अमेरिकी राष्ट्रिय हितमा संलग्न व्यक्तिहरूलाई छुट दिइनेछ।
ह्वाइट हाउसका अनुसार यो निर्णय ट्रम्पको चुनावी बाचा अनुसार आतंकवाद विरुद्धको सुरक्षात्मक कदम हो। कोलोराडोको बोल्डरमा हालै भएको आतंकवादी घटनालाई उदाहरण दिँदै ट्रम्पले ‘खतरा देखिएका राष्ट्रहरूबाट आप्रवासन रोक्न जरुरी भएको’ बताएका छन्।