सहायक सिडिओ धामीको टोली गाउँमै पुग्यो, ९७ वर्षीया भट्टसहित सयौँले पाए नागरिकता

दार्चुला – सदरमुकाम खलंगासम्म जान नसक्ने अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै व्याँस गाउँपालिकामा घरमै पुगेर नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको नेतृत्वमा गएको प्रशासनिक टोलीले व्याँस गाउँपालिका–३, ४, ५ र ६ का अशक्त, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई घरमै सेवा पुर्‍याएको हो।

उक्त अभियानअन्तर्गत १६१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र तथा २०५ जनालाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ। नागरिकता पाउनेमध्ये १३८ जना ज्येष्ठ नागरिक र दुई जना अपांगता भएका छन् भने परिचयपत्र पाउनेमध्ये १९७ जना ज्येष्ठ नागरिक र पाँच जना अपांगता भएका छन्।

व्याँस–६ की ९७ वर्षीया लालुदेवी भट्टले पहिलोपटक घरमै नागरिकता पाएपछि खुशी व्यक्त गर्दै भनिन्, “घरमै नागरिकता पाउँदा ठूलो सन्तोष लागेको छ।” सदरमुकामसम्मको यात्रा खर्चिलो र अप्ठ्यारो हुने भएकाले नागरिकलाई सहज बनाउने उद्देश्यले गाउँमै सेवा पुर्‍याइएको व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले जानकारी दिए। उनका अनुसार गाउँबाट खलंगासम्म एकतर्फी यात्रा खर्च मात्र एक हजार रुपैयाँ पर्छ भने आवतजावतमा तीन–चार हजार रुपैयाँसम्म लाग्ने भएकाले पालिकाले समन्वय गरेर गाउँमै सेवा पुर्‍याउने व्यवस्था मिलाइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी धामीले भने, “जनताको घरदैलोमै सेवा पुर्‍याउने हाम्रो प्रयास हो। यस्ता अभियानले नागरिकको समय, खर्च र झन्झट बचाउँछ।”स्थानीय सरकार र जिल्ला प्रशासनको सहकार्यमा सञ्चालन गरिएको यस अभियानले विकट क्षेत्रका नागरिकलाई राज्यका सेवा र सुविधामा पहुँच पुर्‍याउन सक्ने उदाहरण पेश गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्