काठमाडौँ- प्रतिनिधिसभाको बैठक गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै भइरहेको राजनीतिक गतिरोधका कारण बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नागरिकसँग अवैध रकम असुली प्रकरण सार्वजनिक भएपछि प्रतिपक्षी दलहरूले लेखकको नैतिक जिम्मेवारी माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।
आज बिहान ११ बजेका लागि तोकिएको बैठक सहमतिको प्रयास स्वरूप दिउँसो ३:१५ बजेसम्म सारिएको थियो। तर, सहमति जुट्न नसकेपछि संसद सचिवालयले बैठक स्थगनको सूचना जारी गरेको हो। मंगलबार पनि संसद बैठक सुरु हुन नपाउँदै स्थगित गरिएको थियो।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराईसहितका अधिकारीहरूमाथि अनुसन्धान थालेको छ। त्यसपछि गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै प्रतिपक्षीले तीव्र विरोध जनाएका हुन्।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीलाई संसदमा आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने धारणा राखेका छन्। उता, माओवादी केन्द्र, रास्वपा लगायतका दलहरूले भने गतिरोध अन्त्यको पहिलो सर्त गृहमन्त्रीको राजीनामा हुनुपर्ने अडान दोहोर्याइरहेका छन्।