भिजिट भिसा प्रकरणबारे प्रत्यक्ष संसद्मै विस्तृत जवाफ दिन तयार छु: गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामै विस्तृत जवाफ दिने बताएका छन्। आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले संसदीय समितिमा सीमित उत्तर दिनेभन्दा पनि संसद्को बैठकमै समग्र विषयमा स्पष्ट पार्न उपयुक्त हुने बताएका छन्। “यो विषयमा धेरै सांसदहरूको चासो र जिज्ञासा छ,” उनले भने, “त्यसैले म हाउसमा उठेका सबै प्रश्नहरूको विस्तृत उत्तर दिन चाहन्छु।”

बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र गृहमन्त्री लेखक स्वयंको संलग्नताबारे विपक्षी दलहरूले लगाउँदै आएको आरोप पनि प्रमुख बहसको विषय बनेको थियो।

यही प्रकरणका कारण विपक्षी दलहरूले संसद् बैठकसमेत निरन्तर अवरुद्ध पार्दै आएका छन्। गृहमन्त्री लेखकले भने, “यदि यो विषयमा समितिकै सदस्यहरूलाई मात्र चासो भएको भए म यहीं जवाफ दिएर जान्थें। तर अब हाउसमा नै जवाफ दिने अवसर मिलोस्।”

गृहमन्त्रीले प्रतिनिधिसभामा विस्तृत रूपमा जवाफ दिँदा सबै सांसदका प्रश्न समेटिने र विषयको समग्रता स्पष्ट हुने विश्वास व्यक्त गरे।

उता विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा माग गर्दै आएका छन्। उनीहरूले यस विषयमा निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने अडान पनि दोहोर्‍याउँदै आएका छन्।
भिजिट भिसा दुरुपयोग प्रकरणबारे राजनीतिक तथा सार्वजनिक वृत्तमा चासो चुलिंदै गएको सन्दर्भमा गृहमन्त्रीको संसद् वक्तव्यले बहसलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्