कर्णाली प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै, सुदूरपश्चिमका प्रमुखले प्रस्तुत गर्ने

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आज (बुधवार) प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र कार्कीका अनुसार, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी हाल अमेरिका उपचारका लागि गएका कारण सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

बैठक दिउँसो ३:०० बजेका लागि तय गरिएको छ। संविधानको व्यवस्था अनुसार प्रदेश प्रमुखमार्फत सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने व्यवस्था रहेको छ। आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले विकास, पूर्वाधार, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका प्राथमिकताका क्षेत्रलाई समेट्ने अनुमान गरिएको छ।

संसदीय स्रोतका अनुसार नीति तथा कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा र सञ्चार क्षेत्रको सशक्तीकरण तथा स्थानीय तहसँग समन्वयमा कार्यक्रम सञ्चालन गर्ने विषयहरू प्राथमिकतामा पर्नेछन्। नीति तथा कार्यक्रम प्रस्तुतिसँगै अब केही दिनभित्र बजेट सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्