देशका अधिकांश भागमा बदली र वर्षा, कोशीमा भारी वर्षाको सम्भावना

 

काठमाडौं – देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायु र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै असरस्वरूप बुधबार बिहान कोशी, मधेस र बागमती प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार उदयपुरको चुरीमाईमा एक घन्टामा ४१.२ मिलिमिटर, सप्तरीको कल्याणपुरमा १७.२ मिलिमिटर, रूपनी बजारमा १७ मिलिमिटर, सिरहाको लहानमा १२.४ मिलिमिटर र मोरङको विराटनगरमा १०.६ मिलिमिटर वर्षा मापन भएको छ।

काठमाडौंसहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा पनि वर्षा र बदलीको अवस्था देखिएको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका केही भागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।

बुधबार राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्