ललितपुर — अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलमा एकैसाथ छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पाँच जना भारतीय नागरिक रहेका छन् भने बाँकी नेपाली नागरिक हुन्। कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भनिने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का, ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह, पूर्णबहादुर दर्लामी मगर र मोहितकुमार सिंह छन्।
भारतीय नागरिकहरू ऋषभ, दिपककुमार, अंकितकुमार, धिरजकुमार र मोहितकुमार रहेको प्रहरीको भनाइ छ।
८१ करोड बराबरको कारोबार
एसपी आचार्यका अनुसार उक्त समूहले पछिल्लो पाँच महिनादेखि ललितपुरमा बसेर अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले संकलन गरेको तथ्यांकअनुसार यो अवधिमा उनीहरूको कारोबार झन्डै ८१ करोड रुपैयाँ बराबर पुगेको देखिएको छ।
उक्त कारोबारमा प्रायः भारतीय बैंक प्रणाली प्रयोग गरिएको पाइएपछि सट्टेबाजीमा संलग्न धेरैजसो खेलाडी पनि भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरी अनुसन्धानले यो समूहले पहिले दुबईमा सट्टेबाजी सञ्चालन गर्दै आएको र पछिल्लो समय नेपालमै केन्द्र बनाएर कारोबार गरिरहेको खुलाएको छ। ‘यो समूह पहिले दुबईमा काम गर्दै आएको रहेछ। पछिल्लो समय ललितपुरमा नै बसेर अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको पाइयो,’ एसपी आचार्यले बताए।
सट्टेबाजीमा प्रयोग भएका मोबाइल फोन, ल्यापटप, राउटरसहितका विभिन्न इलेक्ट्रोनिक उपकरणहरू प्रहरीले बरामद गरेको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप समेत लिएको प्रहरीले जनाएको छ। अनलाइन सट्टेबाजीविरुद्ध प्रहरीले अगाडि सारेको यो कारबाहीलाई संगठित अपराध नियन्त्रणतर्फको महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। प्रहरीले थप संलग्न व्यक्तिहरूको खोजी र आर्थिक कारोबारको विस्तृत पृष्ठभूमि जाँच गर्ने जनाएको छ।