प्रतिनिधि सभा बैठकअघि प्रमुख विपक्षी दलहरूको रणनीति बैठक आज बस्दै

काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत अन्य विपक्षी दलहरूले आज मंगलबार संयुक्त बैठक बस्ने भएका छन्। बैठकमा प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गरिने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्।

उनका अनुसार बैठकको समय भने अझै टुंगो लागिसकेको छैन। “प्रतिनिधि सभा बैठक अघि हामी छलफल गर्छौं। अरू विपक्षी दलहरूसँग पनि निरन्तर संवाद भइरहेको छ,” पाण्डेले भने।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। त्यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसद् अवरोध अन्त्यलगायत विषयमा छलफल भएको थियो। तर, सहमति जुट्न नसकेको स्रोतहरू बताउँछन्।

विपक्षी दलहरूबीच गृहमन्त्रीको राजीनामाको मागमा एकरूपता भने देखिएको छैन। माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लेखकरको राजीनामाको पक्षमा स्पष्ट छन्। तर, एकीकृत समाजवादीले भने गृहमन्त्रीलाई सदनमा आफ्नो पक्ष राख्न दिनुपर्ने अडान लिएको छ।

यसैबीच, प्रचण्डले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए। आजको बैठकअघि विपक्षी दलहरूबीचको समन्वयले संसद्को भावी गतिरोधको दिशा तय गर्ने संकेत देखिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्