काठमाडौं — भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण जम्मु–कश्मीरमा जनजीवन अस्थिर बनेको छ। पछिल्लो समय जम्मु क्षेत्रमा गोलीबारी तीव्र भएपछि त्यहाँका प्रवासी मजदुरहरू अन्य राज्यतर्फ फर्कन थालेका छन्। जम्मु रेलवे स्टेशनमा बिहार, उत्तर प्रदेश, झारखण्ड लगायत राज्यका मजदुरहरूको ठूलो भीड देखिएको छ।
भारतले पहलगाम आक्रमणको प्रतिशोधस्वरूप पाकिस्तानमा हवाई हमला गरेपछि स्थिति थप जटिल बन्दै गएको छ। जवाफमा पाकिस्तानले गएराति भारतीय सैन्य आधारशिविरहरूमा ठूलो मात्रामा कारबाही सुरु गरेको बताएको छ। पाकिस्तान प्रशासित कश्मीरमा भारतीय हमलाबाट १३ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको पुष्टि भएको छ।
भारतका उधमपुर, पठानकोट, आदमपुर र भुजस्थित वायुसेना अड्डाहरूमा क्षति पुगेको छ भने पञ्जाबका केही एयरबेसमा उच्च गतिको मिसाइल आक्रमण भएको छ। राजौरी जिल्लामा पाकिस्तानी गोलाबारीमा परेर प्रमुख अधिकारी राजकुमार थाप्पाको मृत्यु भएको पुष्टि भएको छ।
स्थिति अत्यन्तै संवेदनशील मोडमा पुगेको भन्दै विश्लेषकहरूले पूर्ण युद्धको सम्भावना प्रति चिन्ता व्यक्त गरेका छन्। सर्वसाधारणमा त्रास फैलिएको छ। पाकिस्तान र भारत दुवै तर्फका नागरिकहरू युद्धको विनाशकारी असरको भयमा छन्। उडानहरू स्थगित, विद्यालयहरू बन्द र यातायात अवरुद्ध हुँदा अर्थतन्त्रमा समेत गम्भीर असर परेको देखिएको छ।