भारत र पाकिस्तानबीच जारी सैन्य तनावले थप गम्भीर मोड लिएको छ। लगातार दोस्रो रात दुबै मुलुकले एकअर्कामाथि हवाई आक्रमण गरेका छन्। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न स्थानहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएको द हिन्दुस्तान टाइम्स ले जनाएको छ। यता द डन पत्रिकाका अनुसार, भारतले पनि पाकिस्तानका विभिन्न भूभागहरूमा रातभर आक्रमण जारी राखेको छ।
शनिबार बिहान साढे ४ बजे भारतको जम्मू क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। पाकिस्तानी ड्रोन देखिएपछि जम्मू र हरियाणाका केही भागमा ब्ल्याकआउट गरिएको थियो। पाकिस्तानले भारतका जम्मू, साम्बा, बर्मर, जइसाल्मर, गुर्दासपुर, होसियारपुर, अमृतसर लगायतका सैन्य शिविरहरूलाई निशाना बनाएको बताइएको छ। तर भारतको एयर डिफेन्स सिस्टमले अधिकांश आक्रमणलाई निष्क्रिय पारेको दावी गरिएको छ।
भारतले गएको दुई रातमा पाकिस्तानका करिब ३०० देखि ४०० ड्रोन नष्ट गरेको हिन्दुस्तान टाइम्स ले लेखेको छ। उता पाकिस्तानले पनि भारतका ७२ वटा ड्रोन निष्क्रिय पारेको दाबी डन पत्रिकाले गरेको छ। शनिबार बिहान सवा ३ बजेदेखि मध्यान्ह १२ बजेसम्म पाकिस्तानले आफ्नो हवाइ क्षेत्र बन्द गरेको थियो भने भारतले हवाइ क्षेत्र खुला राखेर पाकिस्तानले आफ्ना नागरिकलाई खतरा पुर्याएको आरोप लगाएको छ।
बुधबार राति भारतले पाकिस्तानका ९ वटा स्थानमा मिसाइल आक्रमण गरेको थियो। भारतले ती क्षेत्रहरूमा आतंकवादी संगठनहरूको अड्डा रहेको आरोप लगाउँदै आक्रमण गरेको हो। त्यस आक्रमणमा पाकिस्तानका ३१ जनाको मृत्यु र कम्तिमा ४६ जना घाइते भएको भनिएको छ। त्यसको जबाफमा बिहीबार राति पाकिस्तानले भारतीय भूभागमा ड्रोन र मिसाइल आक्रमण गरेको थियो।
बढ्दो तनावका बीच अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रूविओले दुबै देशसँग कुराकानी गर्दै मध्यस्थताको प्रयास भइरहेको ह्वाइट हाउसले जनाएको छ। विश्व समुदायले भारत र पाकिस्तानलाई संयम अपनाउन आह्वान गरेको छ।
युद्धको खतराबीच क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्न सक्ने संकेत देखिन थालेको छ।