सुर्खेत — सुर्खेतको भेरीगंगा नगरपालिका–१२ झिंगेनारा खोलामा आइतबार मृत भेटिएकी गुर्भाकोट–५ की २६ वर्षीया प्रेमा ओलीको हत्या उनका श्रीमान् दर्शन खत्रीले गरेका हुन् भन्ने खुलेको छ। शनिबार राति झगडापछि खत्रीले ढुङ्गाले टाउकोमा हानी पत्नीको हत्या गरेको र पछि सलले घाँटी बेरेर खोल्सामा शव फालेको प्रहरी अनुसन्धानबाट खुलेको हो।
सात वर्षअघि प्रेमविवाह गरेका दम्पतीबीच लामो समयदेखि अविश्वास र झगडा हुँदै आएको थियो। सेनामा कार्यरत खत्री अन्य महिलासँगको सम्बन्धका कारण विवाद चुलिँदै गएको बताइएको छ। प्रेमाको शव कर्णाली प्रदेश अस्पतालमा राखिएको छ भने आरोपी खत्री प्रहरी नियन्त्रणमा छन्।