कक्षा १२ को परीक्षा आजदेखि सुरु, देशभर पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी

भक्तपुर – कक्षा १२ को परीक्षा आज वैशाख २१ गते शनिबारदेखि देशभर एकसाथ सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ र आगामी जेठ २ गतेसम्म चल्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिँदै सबै परीक्षार्थीलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।

देशभरका १,५९० केन्द्र र जापानमा एक गरी कुल १,५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी केन्द्र काठमाडौंमा १६२ वटा रहेका छन् भने मनाङ र मुस्ताङमा एक-एक केन्द्र मात्रै छन् ।

परीक्षामा नियमिततर्फ ५,२०२ विद्यालयका एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका छन् । आंशिकतर्फ एक लाख १५ हजार ६१७ परीक्षार्थी रहेको बोर्डले जनाएको छ । यसरी कुल परीक्षार्थी संख्या पाँच लाख ११ हजार ५२५ पुगेको छ । सबैभन्दा कम परीक्षार्थी मनाङबाट ४५ जना सहभागी छन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ जना सहभागी भएका छन् ।

परीक्षाको सञ्चालनमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, करिब २,००० कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी तथा २० हजार सुरक्षाकर्मी खटाइएको छ । शारीरिक वा मानसिक अपाङ्गता भएका विद्यार्थीका लागि विशेष व्यवस्था गरिएको छ भने कारागार र बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षा केन्द्रमा सुरक्षा कडाइ गरिएको छ । जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना परीक्षा केन्द्रमा प्रवेश निषेध गरिएको छ । परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैलाई मोबाइल फोन लैजान अनुमति छैन । परीक्षार्थीलाई स्मार्ट घडी, मोबाइल फोन तथा अन्य विद्युतीय उपकरणहरू (लोडेड क्याल्कुलेटरबाहेक) लैजान पूर्ण निषेध गरिएको छ ।

परीक्षाको मर्यादा भङ्ग गरेमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ अनुसार कानुनी कारबाही हुने बोर्डले स्पष्ट पारेको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा लिइँदैछ । परीक्षा साधारण, परम्परागत र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीका लागि सञ्चालन भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्