काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको छ । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो ।
मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।
यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । रेल चढेर गन्तव्यमा जान पाएको खुसीमा केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ । रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्याउन ४६८ वटा रेल सन्चालन गरिएको जानकारी दिएका छन् । कोरोना कहरबीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सन्चालन गर्ने चर्चा छ । यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सन्चालनको तयारी भइरहेको छ । दिल्ली मेट्रो रेल सेवा आफैंले त्यसको संकेत गरेको छ ।
दिल्ली मेट्रोले आफ्नो ट्वीटर अकाउन्टमा मेट्रो स्टेशनमा विशेष प्रशिक्षित कर्मचारीहरु खटाइएको जानकारी दिएको छ । यात्रुहरुको आउ–जाउ हुने क्षेत्रको सरसफाइ गर्न उनीहरुलाई खटाइएको हो । दिल्लीको लाइफलाइन भनिने दिल्ली मेट्रो कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २२ मार्चदेखि बन्द गरिएको छ ।