सुदूरपश्चिम माओवादी संसदीय दलमा संवादको सुरुवात, विवाद समाधानका लागि सामूहिक छलफल

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा माओवादी संसदीय दलभित्र देखिएको विवाद समाधानका लागि पहिलोपटक सामूहिक छलफल भएको छ। आइतबार संसदीय दलको कार्यालयमा बसेको छलफलमा खगराज भट्टसहित दलका सबै प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि संसदीय दलका नेता मानबहादुर धामीले छलफलको आह्वान गरेका थिए। प्रदेशसभा सदस्य रमेश धामीबाहेक सबै सांसदहरूको सहभागिता रहेको बैठकमा दलभित्र उत्पन्न विवाद समाधानका लागि कुराकानी गरिएको थियो।

छलफलमा सहभागी एक सांसदका अनुसार विवाद मिलाउन सहमतिमै अघि बढ्ने निर्णय गरिएको छ। उनले भने, “यो पहिलो चरणको छलफल हो। अब निरन्तर औपचारिक तथा अनौपचारिक संवाद गर्दै समाधान निकाल्ने प्रयास हुनेछ।”

गत १२ माघमा बहुमत सांसदहरूले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता चयन गरेका थिए। तर, पार्टी केन्द्रले पुनः भट्टलाई नै नेता बनाउन निर्देशन दिएपछि संसदीय दलभित्र विवाद चुलिएको थियो। अध्यक्ष प्रचण्डले फागुन १४ गते खुमलटारमा सुदूरपश्चिमका सबै प्रदेशसभा सदस्यसँग छलफल गरी भट्टलाई नै नेता बनाउने निर्देशन दिएका थिए। त्यसयता पहिलोपटक प्रदेशसभा सदस्यहरू सामूहिक छलफलमा जुटेका हुन्।

छलफलमा भट्टलाई दलको नेता बनाएपछि अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको स्रोतहरू बताउँछन्। आइतबारको छलफलपछि लामो समयदेखिको संवादहीनता टुटेको नेताहरूको दाबी छ। अब आगामी दिनमा हुने औपचारिक तथा अनौपचारिक छलफलले संसदीय दलभित्रको विवाद समाधान हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्