कञ्चनपुर – सामुदायिक वनको क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दैे संस्थापक अध्यक्ष स्व. नागी चन्दलाई मरणोपरान्त सम्मान गरिएको छ ।
बुधबार कञ्चनपुरको बेदकोटमा रहेको सिद्धबैजनाथ सामुदायिक वन उपभोक्ता समुहले स्व. चन्द सँगै उहाँका दुई छोराहरु देब बहादुर चन्द र अशोक कुमार चन्दलाई सम्मान गरिएको छ ।
बेदकोट नगरपालिका वडा नम्बर ४ विजयनगर बगुनमा रहेको श्री सिद्ध बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको १३ औ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनबाट प्रमुख अतिथि बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा तथा सामुदायिक वनका अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले उहाँहरुलाई सम्मान गरेको हो ।
२०५७ सालमा तत्कालिन दैजी गाउँ विकास समितिको बगुन क्षेत्रमा स्थापना गरिएको सिद्ध बैजनाथ सामुदायिक वनका संस्थापक अध्यक्षको रुपमा स्व. नागी चन्द रहनुभयो । उहाँले करिब ७ बर्ष नेतृत्व लिनुभयो । त्यसपछि उहाँका कान्छा छोरा अशोक कुमार चन्दले करिब ५ बर्ष नेतृत्व लिनुभयो । अशोक चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनबाट बेदकोट नगरपालिकाको मेयरमा विजयी हुनुभएको थियो । उहाँले समेत वनको क्षेत्र उदाहरणीय काम गरेर २०६७ सालमा नेतृत्व हस्तान्तरण गर्नुभयो । त्यसपश्चात उहाँकै जेष्ठ दाई तथा संस्थापक अध्यक्ष स्व. नागी चन्दका जेष्ठ सुपुत्र देव बहादुर चन्दले नेतृत्व लिनुभयो । उहाँले समेत ८ बर्ष नेतृत्व सम्हाल्नुभयो ।
विगतमा अध्यक्ष पदमा रहदा सामुदायिक वन संरक्षण, वातावरण एवं जैविक विविधताको क्षेत्रमा उदाहरणीय कार्य गर्नुका साथै बेदकोट नगरपालिकाको मेयर पदमा रहदा आफ्नो कार्यकाल भरी नगरको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको कदर गर्दै सामुदायिक वनका पूर्व अध्यक्ष तथा पूर्व मेयर चन्दलाइ सम्मान गरिएको हो । यसैगरी संस्थापक अध्यक्ष समेत रहेका उहाँका बुवा स्व. नागी चन्दलाइ समेत मरणोपरान्त सम्मान गरिएको हो भने देव बहादुर चन्दलाइ समेत बनको अध्यक्ष पदमा ८ बर्ष नेतृत्व गरी सामुदायिक वन संरक्षण, वातावरण एवं जैविक विविधताको क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै सम्मान गरिएको हो ।