गुप्तचरमा चिफको मनपरी, प्रधानमन्त्री कार्यालय बेखबर

काठमाडौं – कमजोर नेतृत्वका कारण राष्ट्रिय अनुसन्धान विभाग ओरालो लागेको छ । मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएपछि एकातर्फ सूचना संकलन कमजोर भएको छ ।
विमानस्थलबाटै ठूलो मात्रामा सुन तस्करी हुँदा पनि गुप्तचरले केही जानकारी नपाउनुले विभागको कमजोरी छरपष्ट भएको छ । विभागका प्रमुखले गुप्तचरीका लागि आएको पैसा नै खल्तीमा हाल्ने प्रवृत्तिले यस्तो समस्या आएको विभागका कर्मचारी बताउँछन् । यस्तै विभाग प्रमुख थापाले थापाले आधा दर्जन बढी गाडी प्रयोग गरिरहेको त्यहाँका कर्मचारीले आरोप लगाएका छन् ।

हालैको सरुवा पनि विभागमा असन्तुष्टि देखिएको छ । एकै व्यक्तिलाई तीन पटकसम्म एउटै कार्यालयको प्रमुख बनाइएको छ । सहअनुसन्धान निर्देशक(एसएसपी) भूमी पाठकलाई ललितपुर पठाइएको हो । उनी त्यसभन्दा अघि दुई पटक त्यहाँ बसिसकेका अधिकृत हुन् । त्यसअघि काठमाडौं र विमानस्थलमा पनि बसेका थिए । सधैं उनी इन्चार्जमा मात्र बस्दै आएका छन् ।

त्यस्तै, उपअनुसन्धान निर्देशक(एसपी) टेकराज तिमल्सिनालाई दोस्रो पटक भक्तपुरमा पठाइएको छ । उनी थापाका निकटस्थ अधिकृत मानिन्छन् । भक्तपुरबाट सरुवा भई उनी प्रशासनमा बसेका थिए । भक्तपुरमा कार्यरत प्रकाश आचार्यलाई १० महिनामै हटाइएको छ ।

त्यस्तै, सिन्धुलीमा मुकुन्द खड्कालाई पठाइएको छ भने मकवानपुरमा प्रज्वल खड्का । सुरेन्द्र कोइराला र सीता पोखरेललाई पनि जिल्ला इन्चार्जमा पठाइएको छ । थप केही जिल्लामा हेरफेरको तयारी भइरहेको छ ।
गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राखिएपछि करिब तीन वर्षको अन्तरालमा हालसम्म विभागको भौतिक अनुगमन नगरिएको तथ्य पनि खुलेको छ । कर्मचारीका समस्या,विभागीय नीति निर्णयमा प्रधानमन्त्री कार्यालयले चासो नलिने, विभागबाट पठाइएका सामान्य सरुवा बढुवाको फाइलमा हस्ताक्षर गर्ने बाहेक प्रधानमन्त्री कार्यालयले विभागको प्रशासनिक काम कारवाही,जिन्सीलगायत स्रोतसाधनको परिचालन सम्बन्धमा अनुगमन एवम् सुपरीवेक्षण नगरेको बताइन्छ ।

बेखबर तालुक मन्त्रालय एवम् जिम्मेवारविहीन राजनीतिक,प्रशासनिक अभिभावकत्व भएको फाइदा उठाउँदै गुप्तचर प्रमुखले आठ वटा सुविधायुक्त गाडी प्रयोग गरेको विवरण प्राप्त भएको छ । थापाले नियमित चढ्ने करिब डेढ करोडको क्रिम कलरको जीप १ को अलावा जितबहादुर केसी विभागीय प्रमुख हुँदा उनले चढेको नीलो जीप २ पनि हाल प्रयोग गरिरहेका छन् ।

उनले औपचारिक समारोहमा कालो टोयोटा कार ३ चढ्छन् भने केही अघि करिव ६० लाखमा खरिद गरिएको विद्युतीय कार ४, दुई महिनाअगाडि किनिएको सुजुकीको नयाँ ब्रेज्जा कार ५,फोर्डको इकोस्पोर्ट कार ६,सेतो स्करपियो जीप ७ र एउटा नीलो भ्यान ८ गरी आठ वटा सरकारी गाडी प्रयोग गरेको बताइन्छ । त्यसमध्ये इकोस्पोर्ट कार भने श्रीमतीले निजी काम,घरायसी कार्यमा प्रयोग गर्ने भएकाले प्रायः उनको निवासमा राख्ने गरिएको छ ।

गुप्तचर विभागलाई स्रोत साधनयुक्त नबनाइएकोमा बारम्बार प्रश्न उठ्ने गरेको छ । तर हाकिमले भने स्वेच्छाचारी शैलीमा आधा दर्जन बढी सरकारी गाडी प्रयोग गरेको विषयमा हालसम्म सरकारले सोधखोज गरेको देखिँदैन । न तालुक अड्डा प्रधानमन्त्री कार्यालय नै यसबारे जानकार छ । तीमध्ये अधिकांश सवारी साधन आवश्यकताअनुसार रातो र सेतो नम्बर प्लेट बनाएर प्रयोग गर्ने गरिएको स्रोतको दाबी छ ।

यो रोग अन्य सुरक्षा निकायमा भए पनि यो हैसियतमा दुरुपयोग नभएको स्रोतको दाबी छ । सुरक्षा निकायमध्ये सबैभन्दा सानो,स्रोत र सुविधामा साँघुरो रहेको अनुसन्धान विभागमा भएको सवारी साधनको दुरुपयोगबारे स्वयम त्यहाँका कर्मचारीले चासो दिन थालेका छन् ।

प्रमुख थापाको नियुक्तिमा निकै दौडिएका भनिएका रुकुम घर भएका डिएसपी दिपक खत्री, बर्दिया घर भएका एसपी टेकेन्द्र तिमिल्सिना र दाङ घर भएका एसपी हेमन्त कार्कीले प्रमुख थापाको कार्यशैलीप्रति असन्तुष्टी जनाएको खबर छ । उनीहरुले क्रमशः त्रिभुवन विमानस्थल,भक्तपुर र प्रधानमन्त्री कार्यालय सरुवा मिलाएपछि विभागका प्रमुख अनुसन्धान अधिकृत थापा विगतको विश्वासिलो टिमबाट क्रमशः टाढा हुँदै गएको बताइन्छ ।

सरुवामा कार्यक्षमताको कुनै मतलब नगरिएको विभागका अधिकारी बताउँछन् । चाकडी र नेताको सिफारिसलाई मात्र आधार बनाउँदा विभागको सूचना संयन्त्र कमजोर बनेको छ । कमजोर चिफका कारण राष्ट्रिय सुरक्षामै जोखिम बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्